काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संगठनात्मक संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताएका छन्।केन्द्रीय समिति बैठकमा बोल्दै थापाले समाज र पुस्ताको विविधता पार्टीभित्र रहे पनि संरचना भने भद्दा र प्रभावकारी नभएको टिप्पणी गरे। उनले कांग्रेसको मौलिकता के हो भन्ने विषयमा पुनः खोजी गर्नुपर्नेमा जोड दिए।
निर्वाचनमा भएको हारको समीक्षा गर्दै उनले पुस्तौँदेखि कांग्रेससँग जोडिएका परिवारका युवा किन पार्टीमा आकर्षित हुन सकेनन् भन्ने विषय गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने बताए। यसका लागि नागरिकको घरघरमा पुगेर छलफल गर्नुपर्ने उनको धारणा छ।
थापाले पार्टीभित्र रहेका मूल्यमान्यतामाथि पनि प्रश्न उठाउँदै जनताको स्वतन्त्रताका लागि लडेको पार्टीभित्र ती मूल्यमान्यता कमजोर त हुँदै गएका छैनन् भन्ने समीक्षा आवश्यक रहेको बताए। कांग्रेस राष्ट्रिय दृष्टिकोण भएको पार्टी भएकाले त्यसलाई जोगाउनुपर्ने उनको भनाइ छ।
साथै, उनले संगठनभित्र रहेका व्यक्तिहरूको भूमिका स्पष्ट हुनुपर्ने र सही व्यक्ति सही स्थानमा छन् कि छैनन् भन्ने मूल्यांकन गर्नुपर्ने बताए। पार्टीले सामाजिक आन्दोलनको भूमिकासमेत निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी शुद्धीकरण र सुधारको कामलाई महाधिवेशनसम्म निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए।







