काठमाडौँ – नेपाल व्यापार संघले सञ्चार क्षेत्रमार्फत सत्य, तथ्यपरक र विश्वसनीय सूचना सम्प्रेषण गर्दै आएको योगदानको कदर गर्दै गोरखापत्र संस्थानलाई सम्मान गरेको छ । संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको अवसरमा गोरखापत्र संस्थानलाई सम्मान–पत्र प्रदान गरिएको हो ।
नेपाल व्यापार संघका निवर्तमान अध्यक्ष हरि गौतमले गोरखापत्र संस्थानले लोकतान्त्रिक अभ्यास, सुशासन, आर्थिक गतिविधि तथा सामाजिक सरोकारका विषयलाई निरन्तर रूपमा आम नागरिक तथा सरोकारवाला निकायसमक्ष पुर्याउँदै आएको कदर गर्दै सम्मान गरेको बताउनुभयो । संस्थानले विशेषगरी व्यापार, व्यवसाय, उद्योग तथा निजी क्षेत्रका समस्या, चुनौती, अवसर र सम्भावनालाई उजागर गर्दै आर्थिक गतिविधि प्रवर्द्धन, नीति–संवाद र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ ।
संघले उक्त योगदानको उच्च मूल्यांकन गर्दै अधिवेशनको अवसरमा संस्थानलाई सम्मान-पत्र प्रदान गरिएको जनाएको छ । उक्त सम्मान निवर्तमान अध्यक्ष गौतमले गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दराज पोखरेल र निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतलाइ उक्त सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।







