काठमाडौँ – राष्ट्रपति कार्यालयले राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्याललाई नियुक्ति गर्ने सरकारको सिफारिस हाल विचाराधीन रहेको स्पष्ट पारेको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नयाँ सरकार गठनको प्रक्रिया, अदालतमा परेको रिट तथा संवैधानिक प्रावधानलाई ध्यानमा राखेर उक्त सिफारिस तत्काल कार्यान्वयन नगरी अध्ययनको क्रममा राखिएको हो।
यसबीच, रामचन्द्र पौडेलले आफ्नी छोरी अवज्ञा पौडेलको नाम सिफारिस नभएपछि अर्यालको नियुक्ति रोकेको भन्ने समाचार सार्वजनिक भएका थिए। तर राष्ट्रपति कार्यालयले यस्तो दाबीलाई असत्य र भ्रामक भनेको छ।
निर्वाचन सम्पन्न भएकोमा धन्यवाद दिन शनिबार बालुवाटार पुगेका संविधानविद्हरूसँग प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिले नाम खाली राखेर पठाउन भनेको अभिव्यक्ति दिएको भन्ने दाबी पनि बाहिरिएको थियो। यद्यपि यसबारे पनि सल्लाहकार पोखरेलले स्पष्ट रूपमा खण्डन गरेका छन्। “सम्माननीय प्रधानमन्त्रीज्यूले त्यस्तो असत्य कुरा बोल्नुभयो भन्ने विश्वास लाग्दैन,” उनले भने, “छोरीको नाम राख्न खोजिएको वा नाम खाली राखेर पठाउन भनिएको कुरा पूर्ण रूपमा असत्य हो।” उनका अनुसार वर्तमान राजनीतिक संक्रमण, नयाँ सरकार गठनको प्रक्रिया तथा अदालतमा विचाराधीन मुद्दालाई मध्यनजर गर्दै सिफारिस अध्ययनमै राखिएको हो, र यसबाहेक अन्य कुनै कारण नरहेको राष्ट्रपति कार्यालयको भनाइ छ।






