काठमाडौँ – मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा मौसम आंशिक बदली रहेको छ भने काठमाडौँ उपत्यकासहित अन्य धेरै स्थानमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाले दिउँसोपछि भने मौसममा परिवर्तन आउने संकेत गरेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश का पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा बाँकी प्रदेशका थोरै पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
त्यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली भू-भागका थोरै स्थान र अन्य क्षेत्रका एक*दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अस्ति शुक्रवार र शनिवारजस्तो भारी वर्षा नहुने भए पनि प्रि-मनसुन सक्रिय रहेकाले दिउँसो र बेलुकीपख हल्का वर्षा हुने क्रम भने जारी रहने महाशाखाले जनाएको छ। यात्रु, कृषक तथा उच्च हिमाली क्षेत्रमा जानेहरूलाई आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ।






