काठमाडौँ – नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि बसेको यो पहिलो बैठक हो। बैठकमा पार्टी सभापति गगन थापा ले दिनुभएको राजीनामाबारे छलफल भइरहेको छ भने चुनावी परिणामको प्रारम्भिक समीक्षा तथा हारका कारणहरूको विश्लेषण पनि जारी रहेको पार्टी प्रवक्ता देवराज चालिसे ले जानकारी दिनुभयो।
प्रवक्ता चालिसेका अनुसार हालसम्म धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरू सभापति थापाले दिएको राजीनामा फिर्ता लिनुपर्ने पक्षमा देखिएका छन्। बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ। यस्तै बैठकले प्रतिनिधिसभा निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य रहेको पार्टीले अपेक्षित मत प्राप्त गर्न नसक्नु गम्भीर विषय बनेको चालिसेको भनाइ छ।
बैठकमा चुनावी प्रदर्शनको समग्र मूल्याङ्कनसँगै आगामी दिनमा मतदाताको विश्वास कसरी पुनः आर्जन गर्ने भन्ने विषयमा विस्तृत छलफल भइरहेको बताइएको छ।







