काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट उपाध्यक्ष पदमा किशोर कुमार गौतम चयन हुनुभएको छ। बागमती प्रदेशको प्रतिनिधित्व गर्दै गौतम उपाध्यक्षमा चयन हुनुभएको हो, जसलाई संघभित्र बढ्दो युवा नेतृत्वप्रतिको विश्वासका रूपमा हेरिएको छ।
व्यवसायिक क्षेत्रको सुदृढीकरण, युवा सहभागिता विस्तार तथा संघलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित उम्मेदवारी दिनुभएको गौतमले चयनपछि आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। उहाँले वर्तमान अवस्थामा व्यापार-व्यवसाय क्षेत्र विभिन्न चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सक्षम, दूरदर्शी र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउनुभयो।
गौतमले देशमा पछिल्लो समय देखिएको युवा नेतृत्वले परिवर्तन सम्भव छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरिसकेको उल्लेख गर्दै अब युवाले केवल अवसर खोज्ने होइन, जिम्मेवारी लिन सक्ने र परिणाम दिन सक्ने क्षमता देखाउनुपर्नेमा जोड दिनुभयो।
आगामी कार्यकालमा सदस्य व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने, नीतिगत पैरवीलाई सशक्त बनाउने, निजी क्षेत्रका समस्या तथा चुनौतीहरू सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा उठाउने तथा युवा व्यवसायीलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम ल्याउने उहाँले बताउनुभयो। साथै संघभित्र पारदर्शिता, जवाफदेहिता र सक्रियता अभिवृद्धि गर्दै सहकार्य र समन्वयमा आधारित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशन यही चैत्र ७ गते शनिबार राष्ट्रिय सभा गृहमा सम्पन्न भएको थियो । ३३ औँ साधारण सभा तथा १७ औँ अधिवेशनबाट अध्यक्ष गिरिराज पोखरेलको नेतृत्वमा मनोनित गरि ९७ सदस्यी कार्यसमिति चयन भएको छ । कुल १०५ सस्यीय कार्यसमितिमा बाँकि सदस्य मनोनित हुनेछन् । जसमा काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ तथा अन्य उपाध्यक्षमा किशोरकुमार गौतमसँगै दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा चयन भएका छन् ।
संघमा केन्द्रीय उपाध्यक्षसहित काठमाडौँ उपत्यका र सातै प्रदेशबाट उपाध्यक्ष चयन हुने व्यवस्था रहेकोमा बागमती प्रदेशबाट गौतमको चयनले युवा नेतृत्वप्रति संघको झुकाव स्पष्ट देखिएको छ। उहाँको चयनसँगै नेपाल व्यापार संघभित्र नयाँ ऊर्जा, सोच र कार्यशैलीको अपेक्षा गरिएको छ।







