काठमाडौँ – आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसोपछि विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी दाङ, नेपालगञ्ज तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा हुरी चल्ने अनुमान गरिएको छ। भोलिसम्म विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
जलवायु विज्ञ उज्जवल उपाध्याय का अनुसार पश्चिमबाट वर्षा गराउने प्रणाली नेपाल प्रवेश गर्दैछ, जसको प्रभावले दार्चुला, डडेल्धुरा र हुम्ला लगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपात हुने देखिएको छ। यसैगरी बारा र रौतहट मा स्थानीय मौसमी प्रणालीका कारण साँझतिर वर्षा हुन सक्नेछ। साँझ ढल्दै जाँदा धादिङ, चितवन (उत्तरी क्षेत्र), तनहुँ र गोरखा आसपास मध्यम वर्षा केन्द्रित हुने अनुमान गरिएको छ।
काठमाडौँ उपत्यका मा पनि साँझ हल्कादेखि मध्यम वर्षा र राति समेत केही समय वर्षा हुने सम्भावना रहेको छ। रातिदेखि भोलि बिहानसम्म कर्णालीको तल्लो भूभाग र लुम्बिनीको माथिल्लो क्षेत्रमा ४-५ घण्टासम्म वर्षा हुन सक्ने देखिएको छ। विशेषगरी सुर्खेत, सल्यान र ढोरपाटन आसपास क्षेत्रमा अपेक्षाकृत बढी वर्षा भई नदीको सतह बढ्न सक्ने, सामान्य भू–क्षय र साना पहिरो जाने जोखिम रहेको छ।
यसै क्रममा कपिलवस्तु र रुपन्देही क्षेत्रमा पनि २/४ घण्टासम्म ठूलो पानी पर्ने सम्भावना छ। भोलि बिहानसम्म प्रणाली पूर्वतर्फ सर्दै इलाम, धनकुटा, धरान र माथिल्लो झापा क्षेत्रमा समेत भारी वर्षा हुन सक्ने बताइएको छ। हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा तथा यात्रुलाई अनावश्यक यात्रा नगर्न, हावाहुरी चलेको बेला सुरक्षित स्थानमा बस्न, गाडी सञ्चालन नगर्न तथा घरभित्रका इन्धन स्रोत बन्द गर्न अनुरोध गरेको छ। साथै कमजोर संरचना र विद्युत् तारबाट जोखिम हुन सक्ने भएकाले विद्युत् उपकरण प्रयोग नगर्नसमेत आग्रह गरिएको छ।
हाल कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश का केही स्थानमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। प्रि-मनसुनको समयमा दिउँसोपछि जुनसुकै स्थानमा पनि हावाहुरी चल्न सक्ने भएकाले सबैलाई सतर्कता अपनाउन महाशाखाले पुनः आग्रह गरेको छ।






