काठमाडौँ – रोटरी क्लब दिल्लीबजारको नियमित बैठक विशेष रूपमा सम्पन्न भएको छ। उक्त बैठकमा अतिथि वक्ताका रूपमा ग्रामीण पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका अनुभवी पर्यटन अभियन्ता तथा प्रेरक राम सुन्दर बके उपस्थित हुनुहुन्थ्यो। उहाँले ग्रामीण पर्यटनको सम्भावना, चुनौती तथा अवसरबारे अत्यन्त महत्वपूर्ण र व्यावहारिक धारणा प्रस्तुत गर्नुभयो।
आफ्नो मन्तव्यका क्रममा उहाँले रोजगारीको खोजीमा विदेशिएका नेपाली दाजुभाइ तथा युवाहरूले स्वदेश फर्किएर ग्रामीण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमार्फत कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा जानकारी दिनुभयो। गाउँघरमै उपलब्ध प्राकृतिक सम्पदा, संस्कृति, परम्परा तथा स्थानीय स्रोतहरूको सही उपयोग गर्न सके विदेश जानुपर्ने बाध्यता घटाउन सकिने उहाँको धारणा थियो।
त्यसैगरी, नेपालको मौलिक संस्कृति, परम्परा, कला तथा स्थानीय खानालाई आधुनिक पर्यटन बजारमा कसरी आकर्षक ढंगले प्रस्तुत गरी बजारीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि उहाँले आफ्नै अनुभव सुनाउनुभयो। विदेशी पर्यटकहरू विशेष गरी स्थानीय स्वाद, जीवनशैली र संस्कृतिप्रति आकर्षित हुने भएकाले यस पक्षमा ध्यान दिनुपर्ने उहाँले जोड दिनुभयो।
उहाँले बोरा बाँध क्षेत्र लाई उदाहरणका रूपमा प्रस्तुत गर्दै, सुनसान र उपेक्षित क्षेत्रलाई आज चहलपहलयुक्त र आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सफल भएको अनुभव साझा गर्नुभयो। उक्त उदाहरणले नेपालका विभिन्न दुर्गम तथा ओझेलमा परेका क्षेत्रहरूमा योजनाबद्ध ढंगले काम गर्न सके पर्यटन क्षेत्रले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै देशको आर्थिक उन्नतिमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने सम्भावना देखाएको उहाँको भनाइ थियो।
राम सुन्दर बके छोटो समयमै विशेषगरी ग्रामीण पर्यटन क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्नुभएको व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको अनुभव र सुझावले उपस्थित सदस्यहरूलाई प्रेरित बनाएको थियो।
कार्यक्रमको अन्त्यमा प्रेम वली ले अतिथि वक्ता राम सुन्दर बके लाई धन्यवाद व्यक्त गर्दै क्लबको तर्फबाट सोभिनियर प्रदान गर्नुभएको थियो।






