काठमाडौँ । निर्वाचन आयोग नेपाल ले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगका अनुसार बिहान ११ बजे कान्तिपथस्थित प्राङ्गणमा एक औपचारिक समारोहका बीच ११० जना समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका हुन् भने प्रत्यक्षतर्फ विजयी १६५ जनाले यसअघि नै प्रमाणपत्र प्राप्त गरिसकेका छन्। नव-निर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते गर्ने तयारी गरिएको छ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाल कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो दलका रूपमा रहेका छन्। यसैगरी यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ सिटसहित छैटौँ दलका रूपमा स्थापित भएका छन्। प्रतिनिधिसभामा एक स्वतन्त्र उम्मेदवारसमेत निर्वाचित भएका छन्।







