काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब र टर्की मा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ। यस निर्णयसँगै बिदामा नेपाल आएका श्रमिकहरू पुनः आफ्नो रोजगारदाता देश फर्किन सक्ने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का अनुसार मध्यपूर्वमा विकसित युद्ध र अस्थिर अवस्थाका कारण फागुन १७ गतेदेखि श्रम नवीकरण रोकिएको थियो। अहिले पुनः स्वीकृति खुला गरिएसँगै पहिलेबाट कार्यरत श्रमिकहरूलाई केही राहत मिलेको बताइएको छ।
तर इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान मा कार्यरत नेपालीका लागि भने श्रम नवीकरण नदिने निर्णय यथावत् राखिएको छ। वैदेशिक रोजगार विभाग का अनुसार गएको माघसम्म नयाँ र पुरानासहित ७० हजार ५ सय ३ जनालाई श्रम स्वीकृति दिइएको थियो, जसमध्ये ४८ हजार २ सय २६ जना मध्यपूर्वका १२ देशमा गएका थिए। नेपाली श्रमिकका प्रमुख गन्तव्य देशहरूमा कुवेत, यूएई, साउदी अरब र कतार प्रमुख रहेका छन्।
यसैबीच सरकारले मध्यपूर्वका तनावग्रस्त देशहरूमा अनावश्यक यात्रा नगर्न र अत्यावश्यक बाहेकको यात्रा स्थगित गर्नसमेत नागरिकलाई आग्रह गरेको छ।








