काठमाडौँ – निर्माण सामग्री, इन्धन र खाना पकाउने एलपी ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिका कारण नेपालको निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित बनेको छ। अन्तर्राष्ट्रिय द्वन्द्व र चुनावी व्यस्तताका कारण महँगी बढ्दा विकास निर्माणका कामहरूमा प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासङ्घ का अध्यक्ष रवि सिंह ले सरकारको ध्यान चुनावमा केन्द्रित हुँदा निर्माण क्षेत्र उपेक्षित बनेको बताउनुभयो। उहाँका अनुसार हालसम्म करिब १९ प्रतिशत मात्रै विकास खर्च भएको छ भने निकट भविष्यमा पूँजीगत खर्च बढ्ने सम्भावना पनि न्यून देखिएको छ।
अर्थ मन्त्रालयले विकासे मन्त्रालयहरूको बजेट कटौती गर्न खोजिरहेको अनुभूति भइरहेको उहाँले उल्लेख गर्नुभयो। साथै खाडी क्षेत्रमा भइरहेको युद्धका कारण नेपालमा इन्धन आपूर्तिमा समस्या आएको र पछिल्ला १४ दिनदेखि आवश्यक निर्माण सामग्रीको आपूर्ति अवरुद्धजस्तै बनेको उहाँले जानकारी दिनुभयो।
बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी केही व्यवसायीले सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गरेको आरोप पनि उहाँले लगाउनुभएको छ। यस्तो जटिल अवस्थामा निर्माण क्षेत्रलाई राहत दिन सरकारले ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने माग उहाँले गर्नुभएको छ।








