काठमाडौं । देशका केही स्थानमा आज दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। प्रि–मनसुनको समय भएकाले विशेषगरी दिउँसो र बेलुकीपख यस्तो गतिविधि बढ्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार हावाहुरीबाट हुने क्षति न्यूनीकरण गर्न घरको संरचना बलियो बनाउनुपर्ने, हावाहुरी चलेको बेला बाहिर ननिस्कनुपर्ने तथा झ्यालढोका बन्द गरेर सुरक्षित बस्नुपर्ने सुझाव दिइएको छ। साथै यात्रा गरिरहेका बेला हावाहुरी चलेमा सुरक्षित स्थानमा रोकिएर बस्न र रुख तथा कमजोर संरचना नजिक नबस्न पनि आग्रह गरिएको छ।
हिजो काठमाडौं उपत्यका सहित देशका धेरै स्थानमा हुरीबतास, चट्याङ र असिनासहित वर्षा भएको थियो। हावाहुरीका कारण केही ठाउँमा घरका छाना उड्नुका साथै रुख ढल्दा जनधनको क्षति भएको छ। कटारी मा हावाहुरीका कारण दुई जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन्। महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेश का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी र कर्णाली प्रदेश का हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश का पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविद्ले बताएका छन्।







