बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका ६ जना नौ दिनदेखि सम्पर्कविहीन

सुर्खेत – सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका छ जना व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक जना सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती तथा गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापा का अनुसार उनीहरू फागुन २३ गते घरदेखि करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका थिए। सँगै गएकामध्ये टोपबहादुर खत्री को मृत्यु भएको भन्ने जानकारी मृतकका भिनाजु आसे महतारा ले दिएको प्रहरीले जनाएको छ।

महताराले प्रहरी चौकी रानीघाट मा आज बिहान सम्पर्कविहीन व्यक्तिबारे जानकारी दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो। सूचना प्राप्त भएसँगै प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरी को नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेर खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

यस घटनाबारे थप समन्वयका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया लाई पनि जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्