काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ १६ जना उम्मेदवारको नाम निर्वाचन आयोग नेपाल लाई सिफारिस गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाएको हो।
पार्टीका उपमहासचिव लेखराज भट्ट ले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य को नाम सिफारिस गरिएको छ। खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदा कुमारी बराल रहेका छन्। थारु क्लस्टरतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र निता घतानी को नाम सिफारिस गरिएको छ।
त्यस्तै मधेसी क्लस्टरतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल रहेका छन् भने मुस्लिमतर्फ साजिदा सिद्धिकी को नाम सिफारिस गरिएको उपमहासचिव भट्टले जानकारी दिएका छन्। भट्टका अनुसार उपाध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा बसेको सचिवालयको चौथो बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णयका साथै शोक प्रस्तावसमेत पारित गरेको छ।







