काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको आजको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि रिट पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो। आइतबार चैत १ गते पूर्ण इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।
पूर्वगृहमन्त्री लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीले निर्णय गरेपछि उक्त निर्णय विरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भन्दै बदर गर्न माग गरिएको छ । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।







