दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनरले पाँचवटा सवारीलाई ठक्कर दिदा नौ जना घाइते

तस्बिर : बोमलाल गिरी गोरखापत्र

नवलपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

कन्टेनरले काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१-००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो । उक्त बसले काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८२२ नम्बरको बस, भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २४७५ नम्बरको बस र बुटवलबाट चितवनतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार कालिकोटको रास्कोट नगरपालिका-६ का ३० वर्षीय अमर कार्की र पछाडि सवार २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् । त्यस्तै बसमा सवार रोल्पा स्मृति गाउँपालिका-४ का ४४ वर्षीय शंकर बिष्ट, रोल्पा नगरपालिका-४ लिवाङका ४७ वर्षीय उदीराम बिष्ट र रोल्पा-२ का २४ वर्षीय दर्शन पोख्रेल पनि घाइते भएका छन् ।

यसैगरी प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल, रामेछाप मन्थली नगरपालिका-१२ का ३४ वर्षीय विनोदकुमार अछामी, धरान-१५ का ३० वर्षीय नाम्नुहाङ राई र सुनसरीको इनरुवा नगरपालिका-५ का ३४ वर्षीय चन्द्रसिंह थापा पनि घाइते भएका छन् ।

घाइतेमध्ये मोटरसाइकल चालक कार्कीको खुट्टा र महताराको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ । अन्य घाइतेहरूको भने मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्