काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता तथा रास्वपाले हासिल गरेको सानदार जितका लागि बधाई दिएको उनले सोमबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले नयाँ सरकार गठन तथा नेपाल–भारतबीचको परस्पर हित र समृद्धिका लागि सहकार्यको शुभकामना पनि व्यक्त गरेका छन् ।
मोदीले आफ्नो सन्देशमा लेखेका छन्, “हाम्रा साझा प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा म विश्वस्त छु ।”
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत प्राप्त गरिरहेकाले बहुमतसहितको सरकार बनाउने अवस्था स्पष्ट भएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना मंगलबारसम्म सकिने जनाएको छ ।







