काठमाडौँ – राप्रपा नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले धेरै सोचविचारपछि यस्तो निर्णय लिएको बताएका हुन्। उनले यो निर्णय कुनै निराशा, हताशा वा हतारमा नभई गम्भीर मूल्याङ्कनपछि लिएको स्पष्ट पारेका छन्।
मिश्रले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत देखिँदाहुँदै पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पटक–पटक असफल भएको उल्लेख गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतले त्यसमा आफू पनि जिम्मेवार रहेको उनको स्वीकारोक्ति छ। उनले विचारभन्दा माथि देश हुनुपर्ने, देशका लागि नरेश, नवीन समझदारी तथा संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
उनले आजैको मितिबाट लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट बिदा लिएको जानकारी दिएका छन्। साथै राजसंस्था पुनर्स्थापना, सुशासनलगायतका मुद्दामा आफ्नो अडान भने यथावत रहने र अब केही समयका लागि गैरदलीय तथा स्वतन्त्र रूपमा आफ्ना विचार राख्दै जाने बताएका छन्।
मिश्रले पछिल्ला नौ वर्षको आफ्नो राजनीतिक यात्रा उतारचढावपूर्ण रहेको उल्लेख गर्दै देशको राजनीतिक तथा राष्ट्रिय रूपान्तरणका लागि आफूले सकेसम्म इमानदारीपूर्वक प्रयास गरेको बताएका छन्। तर त्यो प्रयास पर्याप्त नभएको उनले स्वीकार गरेका छन्। उनले फेसबुक पोष्ट गर्दै ‘देशभन्दा माथि स्वार्थ’ राखेर व्यक्तिले मात्र फाइदा लिने तर देशले नपाउने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै कठिन राजनीतिक यात्रामा साथ दिने देश–विदेशका नेपाली तथा पार्टीका नेता कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।
यसैबीच उनले हालै निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएका छन्। नेपाली राजनीति एकोहोरो दिशामा दौडिँदै तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भन्ने कामना समेत उनले व्यक्त गरेका छन्।







