काठमाडौं। इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को फाइनलमा प्रवेश गरेको छ। यस जितसँगै भारत लगातार दोस्रो पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो।
भारतले दिएको २ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४६ रन मात्र बनाउन सक्यो। अन्तिम १८ बलमा ४५ रन आवश्यक रहेको अवस्थामा १७औँ ओभरमा जसप्रित बुमराहले किफायती बलिङ गर्दै मात्र ६ रन दिएपछि खेल भारततर्फ मोडिएको थियो।
इंग्ल्यान्डका याकूब बेथेलले १ सय ५ रनको शानदार शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५३ रनको ठूलो योगफल बनाएको थियो। भारतका सन्जु सामसनले उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन बनाए।
अब उपाधिका लागि भारतले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। टी–२० विश्वकपको १०औँ संस्करणअन्तर्गत फाइनल खेल आउँदो आइतवार हुने तालिका छ।







