कास्कीमा आज रातिदेखि मतगणना हुने तयारी

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कास्कीमा बिहीबार रातिदेखि मतगणना गर्ने तयारी गरेको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने तयारी गरिएको हो। कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार आज राति ९ बजेसम्म जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका संकलन भइसक्नेछ। त्यसपछि सर्वदलीय बैठक राखेर उम्मेदवारका मतगणना प्रतिनिधिलाई परिचयपत्र प्रदान गरेपछि मतगणना सुरु गरिनेछ।

उनले प्रत्यक्षतर्फको मत परिणाम २४ घण्टाभित्र आउने र त्यसपछि समानुपातिकतर्फको मतगणना सुरु हुने जानकारी दिए। “हामी आज रातिदेखि नै मतगणना सुरु गर्दैछौं। दल र उम्मेदवारले साथ दिनुभयो भने २४ घण्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम आइसक्छ,” उनले भने, “प्रत्यक्षतर्फको मतगणना सकेपछि समानुपातिकतर्फको मत गणना गर्ने सर्वदलीय सहमति भएको छ।”

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयारीसमेत पूरा गरिसकेको जनाएको छ। कास्की–१ को मतगणना पोखरा महानगरपालिका–१२ स्थित वडा कार्यालयमा, कास्की–२ को सिँचाइ जलस्रोत कार्यालय ड्यामसाइडमा र कास्की–३ को कृषि मन्त्रालय मालेपाटनमा हुने तय गरिएको छ।

कास्कीमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६१.३४ प्रतिशत मत खसेको छ। कुल १ लाख ८९ हजार २६७ मतदाताले मतदान गरेका छन्, जसमा १ लाख ३०५ महिला, ८८ हजार ९५९ पुरुष र ३ जना अन्य मतदाता रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्