मतपत्र लुटिएपछि रोकिएको दोलखाको मालु मतदान केन्द्रमा पुनः मतदान सुरु

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा मतपत्र लुटिएपछि रोकिएको मतदान पुनः सुरु गरिएको छ। जिल्लाका अन्य मतदानस्थलमा भने मतदान प्रक्रिया नियमित रूपमा जारी रहेको थियो। मालुस्थित उक्त मतदान केन्द्रमा मतपत्र लुटपाट भएपछि केही समयका लागि मतदान रोकिएको थियो।

अपराह्न सर्वपक्षीय सहमतिपछि मतदान पुनः सुरु गरिएको हो। उक्त मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएको बताइएको छ। ती मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको जनाइएको छ। लुटिएका मतपत्रमध्ये ४५ वटा फेला परेका छन् भने बाँकी फेला नपरेका मतपत्रलाई मान्य नगर्ने गरी सहमति भएको प्रशासनले जनाएको छ।

घटनाका क्रममा मतदान केन्द्रमा कर्मचारीमाथि हातपातसमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो। यसअघि सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भई मतदान रोकिएको थियो। मतदान पुनः सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई पुनः मतदान केन्द्रमा आउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्