काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान भएको छ।
प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले मताधिकार प्रयोग गरेका छन्। काठमाडौँ उपत्यकामा भने मतदाताको उत्साह बढी देखिएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा ५४ प्रतिशत मतदान भएको छ।
प्रदेशगत रूपमा गण्डकी र कर्णालीमा सबैभन्दा बढी ४८ प्रतिशत मतदान भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ३७ प्रतिशत मत खसेको छ। त्यस्तै बागमती र लुम्बिनीमा ४७ प्रतिशत, कोशीमा ४६ प्रतिशत र सुदूरपश्चिममा ३९ प्रतिशत मतदान भएको तथ्याङ्कमा उल्लेख छ।







