देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान शुरू

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर आज बिहान ७ बजेदेखि मतदान शुरू भएको छ। मतदाताको चहलपहल मतदान केन्द्रमा बढ्न थालेको छ। प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चयन गर्न मतदान भइरहेको हो। मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले भने मत दिन पाउने व्यवस्था छ। देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

मतदाताले मतदाता परिचयपत्र नभए नेपाली नागरिकता, चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर मतदान गर्न सक्नेछन्। तर मतदाता नामावलीमा नाम भने अनिवार्य रूपमा समावेश हुनुपर्नेछ। निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्। चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग सक्रिय रहेको उनले बताएका छन्।

सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ। सुरक्षाका लागि मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेना खटाइएको छ।

विगतका चुनावको सुरक्षा विश्लेषणका आधारमा ३ हजार ६ सय ८० मतदानस्थललाई ‘अति संवेदनशील’, ४ हजार ४ सय ४२ लाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ मतदानस्थललाई ‘सामान्य’ श्रेणीमा वर्गीकरण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्