काठमाडौँ । निर्वाचन आयोग ले मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी दोहोर्याएको छ।
चुनावको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले गरेको प्रतिबद्धता पूरा गर्ने जिकिर गरे। उनले मतपेटिका सङ्कलन कार्य पनि छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रयास भइरहेको बताए।
सडक सञ्जाल पुगेका स्थानबाट गाडीमार्फत तथा छोटो दूरीका लागि बोकेर मतपेटिका ढुवानी गरिनेछ। हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ स्थानबाट भने हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिने भण्डारीले जानकारी दिए। हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भन्ने हल्ला पूर्णतः निराधार र भ्रामक रहेको उनले स्पष्ट पारे।
मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिको रोहबरमा मतपेटिका सिल गरिने तथा प्रतिनिधिहरूको चिह्न अंकित लाहाछाप लगाइने व्यवस्था रहेको आयोगले जनाएको छ। सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी तैनाथ रहने पुरानै सुरक्षा प्रबन्ध कायम रहेको जानकारी दिइएको छ।
दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गरिने भन्दै आयोगले अफवाहमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ।








