बढ्दो क्षेत्रीय तनावका बीच संयुक्त राज्य अमेरिका ले मध्यपूर्व र खाडी मुलुकस्थित आफ्ना दूतावास तथा कूटनीतिक मिसनहरू अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। साथै तनावग्रस्त देशहरूमा रहेका कर्मचारी र नागरिकलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको छ।
रियाद स्थित अमेरिकी दूतावासले मङ्गलबारदेखि अर्को सूचना नआउन्जेल सबै सेवा स्थगित गरेको जनाएको छ। सामाजिक सञ्जाल एक्समार्फत साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरिएको छ। यसअघि साउदी अरब का अधिकारीहरूले रियादस्थित दूतावास नजिक दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेका थिए।
त्यस्तै कुवेत स्थित अमेरिकी दूतावासले पनि अर्को सूचना नआउन्जेल सम्पूर्ण सेवा निलम्बन गरेको जनाएको छ। अमेरिकी विदेश विभागले गैर–आवासीय कर्मचारी र उनीहरूका परिवारलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ। साथै ती देशहरूमा रहेका सरकारी कर्मचारी र परिवारलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन सम्बन्धित सरकारसँग समन्वय गरिएको जनाइएको छ।
हालै इरान मा भएको आक्रमणपछि क्षेत्रीय तनाव चर्किएको छ। उक्त आक्रमणमा इजरायल र संयुक्त राज्य अमेरिका संलग्न रहेको बताइएको छ। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल तथा अन्य क्षेत्रीय संरचनाविरुद्ध मिसाइल र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ, जसले मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको विश्लेषण गरिएको छ।







