काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालय ले जनाएको छ।
मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्री ले जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत २९ वर्षीय श्रेष्ठको मृत्यु भएको जानकारी दिनुभयो।
प्रवक्ता क्षेत्रीका अनुसार खाडी मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा फसेका नेपाली नागरिकहरू सुरक्षित रहेको सम्बन्धित नियोगहरूले जानकारी गराएका छन्। मध्यपूर्वमा बढ्दो तनावका कारण नेपाली नागरिकको सुरक्षासम्बन्धी समस्या समाधान गर्न परराष्ट्र सचिव अमृतबहादुर राई को संयोजकत्वमा आपत्कालीन ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरिएको मन्त्रालयले जनाएको छ।







