पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आईसीसी टी–२० विश्वकप क्रिकेटमामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको भन्दै राष्ट्रिय टोलीका सबै खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (करिब १८ हजार अमेरिकी डलर) जरिवाना गरेको छ। बोर्डले अनुशासनहीनताका कारण नभई कमजोर प्रदर्शनका आधारमा सामूहिक जरिवाना गरिएको जनाएको छ।
समूह चरणमा भारत राष्ट्रिय क्रिकेट टोली सँग ६१ रनले पराजित भएपछि बोर्डले तत्कालै निर्णय लिएको थियो। त्यतिबेला सेमिफाइनल पुगे जरिवाना फिर्ता हुन सक्ने संकेत दिइएको भए पनि पाकिस्तान ‘सुपर एट’ चरण पार गरेपछि समस्यामा पर्यो। न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली सँगको खेल वर्षाका कारण रद्द भयो भने इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली सँग पराजित हुनुपर्यो।
सेमिफाइनल पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्थामा पुगेको पाकिस्तानले श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली विरुद्ध आवश्यक ठूलो अन्तरको जित निकाल्न नसक्दा प्रतियोगिताबाट बाहिरियो। यससँगै पाकिस्तान लगातार चौथोपटक आईसीसी पुरुष प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भयो।
प्रतियोगिताभर अनुशासनसम्बन्धी समस्या नदेखिए पनि प्रदर्शनकै आधारमा सामूहिक जरिवाना लगाइनु दुर्लभ र सम्भवतः अभूतपूर्व कदमका रूपमा हेरिएको छ। यसअघि पनि पीसीबीले ठूला प्रतियोगितापछि कडा निर्णय लिँदै आएको थियो। केही महिनाअघि एशिया कपको फाइनलमा भारतसँग पराजित भएपछि बोर्डले खेलाडीहरूलाई विदेशी टी–२० लिग खेल्न दिइने ‘नो अब्जेक्सन सर्टिफिकेट’ अस्थायी रूपमा निलम्बन गरेको थियो, यद्यपि पछि उक्त निर्णय फिर्ता लिइएको थियो।








