काठमाडौँ। निर्वाचन आयोग नेपाल ले पर्सि बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको जनाएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको समय गएराति १२ बजेदेखि समाप्त भएको हो। आयोगले फागुन ४ गतेदेखि गएराति १२ बजेसम्म प्रचारप्रसारको अनुमति दिएको थियो।
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षा तथा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन। मत माग्ने, सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने वा मतदातालाई प्रभावित पार्ने हिसाबले आर्थिक कारोबार गरेमा उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म चुनावी प्रक्रियामा सहभागी हुन नपाउनेसम्मको कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले जानकारी दिनुभएको छ।
आयोगका अनुसार मौन अवधिमा निगरानीका लागि घुम्ती टोली परिचालन गरिएको छ। मतदान केन्द्र व्यवस्थापन, मतदाता लाइनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाको मूल्याङ्कन यही अवधिमा गरिन्छ। मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव चिह्न तथा प्रचार सामग्री हटाइसक्नुपर्ने आचारसंहितामा उल्लेख छ। साथै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट मत माग्न र प्रचार गर्न नपाइने तथा सञ्चारमाध्यमले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामग्री प्रकाशन/प्रसारण गर्न नपाइने व्यवस्था गरिएको आयोगले जनाएको छ।








