रामेछाप- रामेछाप मा निर्वाचन सामग्री तथा कर्मचारी बोकेको गाडी दुर्घटनामा पर्दा एक सुरक्षाकर्मीको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। सोमबार अपराह्न नेपाल प्रहरी का अनुसार दुर्घटनामा एक जना असईको घटनास्थलमै मृत्यु भएको हो।
रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भिरबाट गाडी खसेको थियो। दुर्घटनामा ज्यान गुमाउने असई आरपी यादव रहेको जनाइएको छ भने उनको ठेगाना खुल्न बाँकी छ। गाडीमा सवार शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्कासहित ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।
उक्त गाडी वडा नम्बर २ स्थित शीतलादेवी मतदान केन्द्र र वडा नम्बर ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घटनास्थल अप्ठेरो र भिरालो भएकाले गाडीको नम्बरसमेत खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिएका छन्।








