मध्यपूर्वको पछिल्लो अवस्थाबारे सजग रहन सरकारको आग्रह, नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो अवस्थाप्रति सजग रहन आग्रह गरेको छ। संयुक्त राज्य अमेरिकाइजरायलले इरानमा गरेको आक्रमण तथा त्यसको जवाफमा इरानले मध्यपूर्वका विभिन्न देशमा गरेको प्रत्याक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सरकारले यस्तो आग्रह गरेको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको जानकारी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। उहाँका अनुसार सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा आफ्ना क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ।

इरान र इजरायलसँगै खाडी क्षेत्रमा पनि सुरक्षा जोखिम बढेको बताइएको छ। इरानले कतार, साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्सकुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पहरूलाई लक्षित गरेपछि ती देशहरूमा सुरक्षा सतर्कता बढाइएको छ। सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासहरूले स्थानीय कानूनको पालना गर्न तथा सुरक्षा सल्लाह र निर्देशनहरू अनुसरण गर्न आग्रह गरेका छन्।

यूएईस्थित नेपाली दूतावासले दोस्रो एडभाइजरी जारी गर्दै सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन नेपाली समुदायलाई सचेत गराएको छ। अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक पुष्टि नभएका सामग्री प्रकाशन–प्रसारण नगर्न र पछिल्लो अवस्थासम्बन्धी फोटो तथा भिडियो पोस्ट गर्दा जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ।

दूतावासहरूका अनुसार ती देशहरूमा रहेका नेपालीहरू हालसम्म सुरक्षित छन् र अवस्था सामान्य नहुँदासम्म सुरक्षा सल्लाहको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

खाडी क्षेत्रमा झन्डै १९ लाख नेपाली कार्यरत रहेका छन्। सबैभन्दा धेरै यूएईमा करिब ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कार्यरत छन्। त्यसैगरी इराकमा २५ हजार, इजरायलमा ५ हजार र लेबनानमा करिब १ हजार नेपाली रहेका छन्।

सरकारले सबै नेपालीलाई संयमित रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न तथा दूतावाससँग सम्पर्कमा रहन पुनः आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्