काठमाडौं । इरानले अमेरिकी–इजरायली संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेको छ। इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले खामेनीको मृत्युको औपचारिक घोषणा गरिएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नातिनातिना तथा एक बुहारीको पनि ज्यान गएको छ। सरकारी टेलिभिजनका एक प्रस्तोताले देशभर ४० दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरिएको बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत खामेनी आक्रमणमा मारिएको दाबी गर्नुभएको थियो। ट्रम्पले यसलाई “न्याय भएको” टिप्पणी गर्दै इरानमाथि बमबारी जारी रहने चेतावनी दिनुभएको छ। उहाँले इरानी नागरिकहरूलाई “आफ्नो देश फिर्ता लिने यो ठूलो मौका” भएको उल्लेख गर्नुभएको छ। साथै धेरै इरानी सैनिकहरू युद्ध लड्न नचाहेको दाबी पनि उहाँले गर्नुभएको छ।
अमेरिका र इजरायलको आक्रमणको जवाफमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रत्याक्रमण गरेको जनाएको छ। बीबीसीका अनुसार इरानले अमेरिकी सैन्य अड्डा रहेका संयुक्त अरब इमिरेट्स, दोहा (कतार), बहराइन र कुवेतमा आक्रमण गरेको छ। आक्रमणमा परी इरानमा दुई सयभन्दा बढी व्यक्तिको ज्यान गएको इरान रेड क्रिसेन्टले जनाएको छ। साथै बालिकाहरू अध्ययन गर्ने विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले बताएका छन्।
इरान वरपरका क्षेत्रमा अमेरिकी फौज परिचालन भइरहेका बेला पछिल्लो आक्रमण भएको हो। राष्ट्रपति ट्रम्पले इरानले परमाणु कार्यक्रम अन्त्य नगरे आक्रमण गर्ने चेतावनी दिँदै आउनुभएको थियो। इजरायल सरकारले सार्वजनिक स्थलमा भेला नहुन र विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ। इजरायलमा गैरसैनिक उडानहरू पूर्ण रूपमा स्थगित गरिएका छन्।
आठ महिनाअघि पनि इजरायल–इरानबीच १२ दिनसम्म युद्ध चलेको थियो। त्यस क्रममा इजरायलले इरानका सैन्य तथा परमाणु केन्द्रहरूमा बमबारी गरेपछि इरानले सयौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। त्यस बेला अमेरिकाले इरानका भूमिगत परमाणु केन्द्रहरूमा आक्रमण गरी युद्धविरामका लागि दबाब दिएको थियो। मध्यपूर्वका अधिकांश देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले उडान रद्द गरेका छन्। धेरै देशहरूले आफ्ना नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
मध्यपूर्वमा तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन र वार्ताबाट समाधान खोज्न आह्वान गरेका छन्।







