अमेरिका र इजरायलको संयुक्त हमला, इरानले खाडीका कुन-कुन देशमा गर्‍यो जबाफी आक्रमण?

तस्बिरः सिएनएन

अमेरिका र इजरायलको संयुक्त हमलापछि इरानले खाडी तथा मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै जबाफी हमला गरेको छ। शनिबार बिहान इजरायलबाट इरानको राजधानी तेहरान लगायतका स्थानमा आक्रमण भएको थियो। हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले पनि हमला गरेको बताएका थिए।

जवाफस्वरूप इरानले इजरायलतर्फ दर्जनौँ ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। सञ्चारमाध्यमहरूले इजरायली हवाई प्रतिरक्षा प्रणालीले ती मिसाइलहरू अवरोध गरिरहेको दृश्य प्रसारण गरेका छन्। CNNका अनुसार इरानले कतारस्थित अल उदैद हवाई अड्डा, कुवेतको अल–सालेम हवाई अड्डा, युएईको अल धाफ्रा एयर बेस तथा बहराइनस्थित अमेरिकी नौसेना अड्डालाई निशाना बनाएको छ। साथै बहराइन र उत्तरी इराकमा रहेका अमेरिकी आधार शिविरहरू पनि लक्षित गरिएको उल्लेख गरिएको छ।

कतारले इरानबाट प्रहार गरिएका मिसाइल तीन पटकसम्म सफलतापूर्वक नष्ट गरिएको जनाएको छ। संयुक्त अरब इमिरेट्समा हवाई प्रतिरक्षा प्रणालीले मिसाइल अवरोध गरे पनि त्यसका टुक्रा एक घरमा खस्दा एक जनाको मृत्यु भएको बताइएको छ। कुवेतका सैनिक प्रमुखले आकाश रक्षा प्रणाली सक्रिय पारेर मिसाइलहरू रोकिएको पुष्टि गरेका छन् भने जॉर्डनका सैन्य प्रवक्ताले दुई ब्यालिस्टिक मिसाइल सफलतापूर्वक अवरोध गरिएको जानकारी दिएका छन्।

सीएनएनका अनुसार इरानको जबाफी कारबाहीबाट अहिलेसम्म ठूलो क्षति तथा व्यापक जनधनको विवरण सार्वजनिक भएको छैन। तर पछिल्ला घटनाक्रमले मध्यपूर्व क्षेत्रमा क्षेत्रीय तनाव थप चुलिने संकेत देखिएको छ। यसबीच नेपाल सरकारले इजरायल, इरान तथा अन्य प्रभावित देशहरूमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्