तेहरानमा विस्फोटका आवाज, इजरायलद्वारा इरानमाथि आक्रमण सुरु, विमानस्थल बन्द

 

काठमाडौं — इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको छ। इरानको राजधानी तेहरानमा विष्फोटका आवाज सुनिएको इरानी सरकारी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी समाचार एजेन्सी फार्स न्युज एजेन्सीका अनुसार तेहरानको डाउनटाउन क्षेत्रमा लगातार विस्फोटका आवाज सुनिएका छन्। प्रारम्भिक रिपोर्टअनुसार दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा मिसाइल खसेको संकेत प्राप्त भएको जनाइएको छ। एजेन्सीले तीनवटा विष्फोटका तस्वीरसमेत सार्वजनिक गरेको छ।

इजरायलले उक्त कारबाहीलाई ‘सतर्कतामा गरिएको हमला’ भन्दै पुष्टि गरेको छ। इजरायली रक्षामन्त्री इजरायल कात्सले पूरै देशभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ घोषणा गरिएको बताएका छन्।

यसैबीच अमेरिकी तथा इजरायली सञ्चारमाध्यमहरूले आक्रमणमा संयुक्त राज्य अमेरिकाको साथ र सहयोग रहेको उल्लेख गरेका छन्। सीएनएनले इजरायली आक्रमण अमेरिकी सहयोगमा गरिएको रिपोर्ट सार्वजनिक गरेको छ भने बीबीसीका अनुसार क्षेत्रीय हवाई उडानहरू बन्द गरिएका छन्।

इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरसँग सम्बद्ध तस्निम न्युज एजेन्सीले इरानको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ। इरानको नागरिक उड्डयन संगठनका प्रवक्ता माजिद अखवानले अर्को सूचना जारी नभएसम्मका लागि देशभरका सबै उडान स्थगित गरिएको घोषणा गरेका छन्।

उता इजरायली अधिकारीहरूले पनि आक्रमणपछि शनिबारका लागि आफ्नो हवाई क्षेत्र नागरिक उडानका लागि बन्द गरिएको बताएका छन्। पछिल्लो घटनाक्रमसँगै मध्यपूर्वमा थप तनाव बढ्ने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्