इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलियो

इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ। स्थानीय समयअनुसार बिहान करिब ८:१५ बजे इजरायलभर मिसाइल आक्रमणको चेतावनी दिने साइरन बजेसँगै त्रास फैलिएको थियो।

इरानको आणविक कार्यक्रम नियन्त्रण गर्ने र सम्भावित युद्ध टार्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानबीच कूटनीतिक पहल जारी रहेकै अवस्थामा इजरायलले सैन्य कदम चालेको हो। वार्तामा इरानले केही लचिलोपन देखाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छलफलको गतिप्रति असन्तुष्टि जनाएका थिए।

ट्रम्पले सन् २००३ को इराक युद्धयताकै सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना मध्यपूर्वमा परिचालन गर्न आदेश दिएका छन्। यद्यपि तत्काल सैन्य कारबाही किन आवश्यक परेको हो भन्नेबारे स्पष्ट पारिएको छैन। इरानले भने कुनै पनि आक्रमणको कडा सैन्य प्रतिवाद गर्ने चेतावनी दिएको छ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायलविरुद्धका खतराहरू हटाउन ‘पूर्व–सतर्कता आक्रमण’ गरिएको बताएका छन्। यसअघि गत जुनमा पनि इजरायलले इरानमाथि आक्रमण गर्दा १२ दिने युद्ध भएको थियो, जसमा पछि अमेरिका समेत सहभागी भई इरानका आणविक केन्द्रहरूलाई निशाना बनाइएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम आफ्नो देशका लागि गम्भीर खतरा रहेको बताउँदै आएका छन्। उनले आणविक कार्यक्रममा मात्र सीमित हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने धारणा राख्दै आएका छन्।

यता इरानले आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रम तथा क्षेत्रीय समूहहरूलाई दिइरहेको समर्थनबारे वार्ता गर्न अस्वीकार गर्दै आएको छ। तेहरानले यस्ता मागलाई आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ।

यस घटनाक्रमसँगै मध्यपूर्वमा पुनः ठूलो द्वन्द्वको जोखिम बढेको विश्लेषण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्