काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक घरेलु शृंखलाको तयारीका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल, ओमान र संयुक्त अरब इमिरेट्सबीच हुने उक्त शृंखलाका लागि प्रारम्भिक टोली घोषणा गरिएको हो।
टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने उप–कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ। घोषित प्रारम्भिक टोलीमा अनुभवी खेलाडीसँगै केही युवा प्रतिभाले पनि स्थान बनाएका छन्।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा रोहित र दीपेन्द्रसिंहसँगै सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इसान पाण्डे, आकाश चन्द र हेमन्त धामी रहेका छन्।
क्यानका अनुसार बन्द प्रशिक्षणबाट अन्तिम टोली छनोट गरिनेछ। घरेलु मैदानमा हुने शृंखलालाई लक्षित गर्दै टोलीले तयारी सुरु गर्ने जनाएको छ।







