काठमाडौँ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदान केन्द्रहरूमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। आकस्मिक अवस्थालाई मध्यनजर गर्दै मतदान स्थलमै आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
आयोगका अनुसार फागुन २१ गते देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत)मा मतदान हुँदैछ। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक उपचार सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचनका सबै मतदान केन्द्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ। यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा आवश्यक सहयोगका लागि पत्राचार गरिएको आयोगले जनाएको छ।
साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत लेखी पठाइएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकार तथा सरोकारवाला निकायसँग निरन्तर सहकार्य गरिरहेको जनाएको छ। मतदाताको सार्थक सहभागिता सुनिश्चित गर्न मतदानको दिनअघि र पछाडि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत नेपाल सरकारबाट भइसकेको आयोगले स्पष्ट पारेको छ।
मतदान प्रक्रियालाई व्यवस्थित बनाउन शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि २१ गतेसम्म प्रयोग गर्न सकिने गरी सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार गरिएको छ। गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा समन्वय भइसकेको आयोगले जनाएको छ।
आयोगले निर्णय तथा पत्राचारअनुसार आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।







