बीबीसीको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र

 

काठमाडौँ — निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्र लेख्दै बीबीसी वर्ल्ड सर्भिसले प्रकाशित गरेको डकुमेन्ट्री हटाउन आग्रह गरेको छ। बिहीबार आयोगका आयुक्त रामप्रसाल भण्डारीले उक्त डकुमेन्ट्री निर्वाचनको माहोल भाड्ने किसिमको भएकाले हटाउन पत्र पठाइएको जानकारी दिए।

बीबीसीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाक्रमलाई समेट्दै तयार पारेको डकुमेन्ट्री बिहीबार सार्वजनिक गरेको हो। ४ हजारभन्दा बढी फोटो तथा भिडियोको अध्ययन गरेर रिपोर्ट तयार गरिएको दाबी गरिएको छ। डकुमेन्ट्रीमा नेपाल प्रहरीको टाइमलाइन रिपोर्टसमेत समावेश गरिएको जनाइएको छ।

बीबीसीका अनुसार ११:५८ बजे प्रहरी र प्रदर्शनकारीबीच झडप भएको, सवा १२ बजेतिर प्रदर्शनकारीले पर्खाल भत्काउन खोजेको र केही प्रदर्शनकारी भवनको छतमा चढेको उल्लेख छ। अवस्था नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साढे १२ बजे कर्फ्यू आदेश जारी गरेको थियो।

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले घुँडामुनि रबरको गोली चलाउन आदेश दिएको डकुमेन्ट्रीमा उल्लेख छ। अश्रुग्यास र रबरको गोली प्रयोग गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि फिल्डमा खटिएका प्रहरीले थप बल प्रयोगका लागि अनुमति मागेको देखिन्छ।

बीबीसीले प्राप्त गरेको टाइमलाइन रिपोर्टअनुसार ‘पिटर वान’ कलसाइनबाट थप आदेश माग्न नपर्ने निर्देशन आएको थियो। ‘पिटर वान’ कलसाइन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रयोग गर्ने भएकाले सो निर्देशन उनैबाट आएको दाबी डकुमेन्ट्रीमा गरिएको छ। रिपोर्टमा १२:४० बजे “कर्फ्यू लागू भइसकेको छ, आदेश मागिरहनु नपर्ने, आवश्यक बल प्रयोग गर्ने” भन्ने निर्देशन आएको उल्लेख छ।

यद्यपि खापुङले उक्त घटनाको जिम्मेवारी लिन अस्वीकार गर्दै कर्फ्यू जिल्ला सुरक्षा समितिको निर्णय भएकाले कार्यान्वयनका लागि प्रहरी महानिरीक्षकको थप आदेश आवश्यक नपर्ने बताउँदै आएका छन्।

भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको थियो भने भोलिपल्ट आन्दोलन थप चर्किँदा कुल मृत्यु संख्या ७६ पुगेको थियो। घटनामा तीन प्रहरीसहित ४५ जनालाई शहिद घोषणा गरिएको छ। भदौ २४ गते आन्दोलन थप बल्झिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

निर्वाचनको सन्दर्भमा सार्वजनिक भएको उक्त डकुमेन्ट्रीबारे थप निर्णयका लागि प्रेस काउन्सिलले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्