काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ कि फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिनुपर्छ। साथै, जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम उल्लङ्घन हुने कार्यको तुरुन्त कारबाही गरी आयोगमा जानकारी गराउन भनिएको छ।
आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि मतदानको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन), कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनहरू संवत् २०८२ साल फागुन २० गते राति १२ः० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाउनू।”
यसैगरी मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने, र हवाई उडानमा टिकट भएका यात्रुहरूले विमानस्थलदेखि घर वा बसोबास गर्ने होटल र पुनः विमानस्थलसम्म जान निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन आयोगले स्पष्ट पारेको छ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा छ अनुसार निर्वाचनमा शान्तिसुरक्षा कायम गर्ने सबै कार्यहरू गर्नुपर्ने उल्लेख छ। प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ को दफा ४३ तथा ८४ अनुसार मतदाताले मतदान गर्दा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपत्र वा सवारी चालक अनुमति पत्रमा कुनै एक कागजात लिएर मतदान केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको छ। आयोगले मतदाता नामावलीमा नाम भएका मतदाताले सो कागजात लिएर मात्र मतदान गर्न पाउने जानकारी सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई सम्प्रेषण गर्न पनि भनेको छ।
विज्ञप्तिमा उल्लेख छ, “आयोगले जारी गरेको सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ स्थापना गरिनेछ। सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको तर्फबाट दुई जना कर्मचारी तोकिनेछन्।”







