बैतडीमा चुनावी घरदैलोका क्रममा रास्वपा र एमाले कार्यकर्ताबीच झडप, दुई जना गम्भीर घाइते

 

बैतडी । निर्वाचन प्रचार–प्रसारका क्रममा जनताको घरदैलो कार्यक्रममा खटिएका युवामाथि आक्रमण हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमबाट फर्किने क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कार्यकर्तामाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गाडीमा सवार एमाले कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो। सोही क्रममा झडप हुँदा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका हुन्।

दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको बताइएको छ। झडपमा जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ। उपसेनानी गणेश कार्कीको कमान्डमा गएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

हाल क्षेत्रको अवस्था सामान्य रहेको र घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्