निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सात वटा महत्वपूर्ण निर्णय

काठमाडौँनिर्वाचन आयोग ले आसन्न निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सात वटा महत्वपूर्ण निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार ती निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचारसमेत गरिएको छ ।

आयोगले मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम मत परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ । यस कदमले निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति–सुरक्षा कायम राख्न सहयोग पुग्ने विश्वास आयोगले व्यक्त गरेको छ ।

त्यस्तै, मतदानको दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा कडाइ गर्ने निर्णय पनि गरिएको छ । फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइने छ । एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी साधन, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन र निर्वाचन प्रयोजनका लागि पास प्राप्त गरेका सवारी साधनलाई भने सञ्चालनमा अनुमति दिइने आयोगले स्पष्ट पारेको छ ।

आयोगले यी निर्णयहरू मार्फत निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन जोड दिएको छ । साथै सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बन्धित निकायलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न अपिल गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्