काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले आफ्नो चौथो तथा अन्तिम समूह चरणको खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि सुरु हुनेछ। नेपाल यसअघि खेलेका तीनै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा इंग्ल्याण्ड सँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा इटाली सँग १० विकेटले तथा तेस्रो खेलमा वेस्ट इन्डिज सँग ९ विकेटले पराजित भएको थियो। लगातार हारसँगै नेपाल समूह चरणबाट बाहिरिइसकेको छ।
कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’ को अङ्क तालिकाको पुछारमा रहेको छ। उक्त समूहबाट वेस्ट इन्डिज लगातार तीन खेल जित्दै तथा इंग्ल्याण्ड चार खेलमा तीन जितसहित ६ अङ्क जोडेर ‘सुपर एट’ चरणमा प्रवेश गरिसकेका छन्। यस पटकको विश्वकपमा नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको विश्लेषण भइरहेको छ।
आजै बिहान सवा ११ बजे भारतको चेन्नईमा क्यानडा र न्युजिल्यान्ड बीच खेल हुनेछ भने दिउँसो सवा ३ बजे श्रीलङ्काको पल्लेकलेमा आयरल्यान्ड र जिम्बाबे आमनेसामने हुनेछन्। यसअघि हिजो भएका खेलमा आयोजक श्रीलङ्का ले अस्ट्रेलिया लाई ८ विकेटले हराउँदै समूह ‘बी’ बाट सुपर एटमा स्थान सुरक्षित गरेको थियो। यस्तै, इंग्ल्याण्डले इटालीलाई २४ रनले तथा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको थियो।
आजको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ। प्रतियोगिताबाट बाहिरिइसके पनि सान्त्वना जितसहित विश्वकप यात्रा टुंग्याउने लक्ष्यसहित नेपाली टोली मैदान उत्रने तयारीमा छ।







