झापा–५ मा केपी शर्मा ओलीले घरदैलो केन्द्रित चुनावी रणनीति अपनाए

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले यसपटकको निर्वाचनमा आफ्नो पुरानो चुनावी रणनीति परिवर्तन गर्दै घरदैलो केन्द्रित अभियान सञ्चालन गरेका छन्। अघिल्ला निर्वाचनहरूमा सीमित सभा, कार्यक्रम र प्रतिनिधिमार्फत मत माग्ने शैली अपनाउँदै आएका ओली यसपालि भने स्वयं मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने रणनीतिमा देखिएका हुन्।

उम्मेदवारी दर्तापछि झापामा सक्रिय रहेका ओलीले विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग भेटघाट गर्दै सुझाव, गुनासा र अपेक्षाहरू संकलन गरिरहेका छन्। उनी पुग्न नसकेका स्थानमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र स्थानीय कार्यकर्तालाई परिचालन गरी घरदैलो अभियानलाई तीव्र बनाइएको एमालेले जनाएको छ।

एमाले झापा–५ का चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहने कार्यक्रम छ। यस अवधिमा दमक क्षेत्रका विभिन्न वडामा दैनिक ६–७ स्थानमा कार्यक्रम पुग्ने गरी कार्यतालिका बनाइएको छ। शिक्षक, आदिवासी जनजाति, मुस्लिम समुदाय लगायत विभिन्न समूहसँग पनि छलफल कार्यक्रम तय गरिएको छ।

झापा–५ मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। बढ्दो प्रतिस्पर्धाका बीच एमालेले क्षेत्रका २९ वटै वडाका सबै टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ।

घरदैलो अभियानका क्रममा मतदाताले स्थानीय विकास, रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी विभिन्न सुझाव तथा गुनासा राखेको पार्टीका स्थानीय नेताहरूले बताएका छन्। ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको एमालेले जनाएको छ।

यसैबीच सामाजिक सञ्जालमा फैलाइएका भ्रम चिर्न र सकारात्मक सन्देश प्रवाह गर्न कार्यकर्तालाई सक्रिय बनाइएको पनि बताइएको छ। निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन सबै पक्षलाई सहयोग गर्न एमालेले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्