काठमाडौँ । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर ड्रोन प्रयोग गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ड्रोन प्रयोगमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो ।
प्रवक्ता काफ्लेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने पनि बताउनुभयो ।
गृह मन्त्रालयले सबै सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन तथा चुस्त व्यवस्थापन गर्न निर्देशन दिएको छ । साथै मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुन आग्रह गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने खालका सामग्री प्रकाशित वा प्रसारण नगर्न अनुरोध गरेको छ ।
यस्ता गतिविधिमा संलग्न पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।







