बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुदा ८ जनाको मृत्यु, दर्जनौँ घाइते

धनगढी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको पवनदूत यातायातको बस पुर्चौडी नगरपालिका–७ बडूगाउँ मोडमा दुर्घटनामा परेको हो। बझाङको वित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवने पुगेको जन्ती फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोडबाट करिब सात–आठ सय मिटर तल खोलामा बस खसेको थियो। दुर्घटनामा परी हालसम्म १६ जना घाइतेलाई स्थानीयवासी र प्रहरीको सहयोगमा कोटिला स्वास्थ्य चौकी पुर्‍याइएको छ। अन्य घाइते तथा यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

रातिको समय र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा केही कठिनाइ भइरहेको जनाइएको छ। हताहती तथा घाइतेको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय पाटन, अस्थायी प्रहरी चौकी ढोल्यामोड र प्रहरी चौकी हाटबाट प्रहरी टोली परिचालन गरिएको छ। साथै हाट स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोली पनि घटनास्थलमा खटाइएको बैतडी प्रहरीले जनाएको छ।

बस दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ। दुर्घटनाले ठूलो धनजनको क्षति भएको अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्