इरान र अमेरिकाबीच भोलि ओमानको राजधानी मस्कटमा आणविक विषयमा अप्रत्यक्ष वार्ता हुने भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार वार्ता इरानको आणविक कार्यक्रम र त्यससँग सम्बन्धित प्रतिबन्ध फुकुवामा मात्र केन्द्रित हुनेछ ।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्नेछन् । प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि सहभागी हुने जनाइएको छ । अमेरिकी पक्षबाट वार्तामा जारेड कुश्नर सहभागी हुन सक्ने बताइएको छ ।
इरानले क्षेप्यास्त्र र प्रतिरक्षा क्षमताबारे कुनै छलफल नहुने स्पष्ट पार्दै आएको छ । क्षेत्रीय तनाव बढिरहेका बेला हुन लागेको यस वार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।







