काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणापत्र निर्माणको जिम्मा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोलीलाई दिइएको छ।
पार्टीका अनुसार घोषणापत्र पाँच मुख्य आधारस्तम्भमा केन्द्रित रहनेछ। भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकता रहने बताइएको छ। त्यस्तै, अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्ने, पूर्वाधार विकास तथा दिगो व्यवस्थापन र महँगी नियन्त्रणलाई पनि घोषणापत्रमा समेटिनेछ।
रास्वपाले सरकार गठनपछि सय दिनभित्र गर्ने कामको स्पष्ट कार्ययोजना तयार गर्ने जनाएको छ। साथै गैरआवासीय नेपालीका मुद्दा, वैदेशिक लगानी प्रवर्द्धन र नीतिगत सुधारका विषय पनि घोषणापत्रमा समावेश गरिने पार्टीको भनाइ छ।







