बजारमा ग्यासको अभाव छैन : नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ। निगमले हिजो जारी गरेको प्रेस विज्ञप्तिमार्फत ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज बनाउन निर्देशन दिइएको जानकारी गराएको हो।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट सन् २०२६ जनवरी महिनामा ४७ हजार ३ सय ४ मेट्रिक टन एलपी ग्यास सम्बन्धित उद्योगहरूले आयात गरेका छन्। यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ मेट्रिक टन र डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन ग्यास आयात भएको थियो।

जाडोयामको माग धान्न पर्याप्त ग्यास आयात भएको निगमले जनाएको छ। तर, हाल केही एकाध ग्यास उद्योगमा सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई तत्काल बजारमा सिलिण्डर आपूर्ति सहज बनाउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो।

बजारमा एलपी ग्यासको वर्तमान अवस्था तथा आसन्न निर्वाचनलाई समेत ध्यानमा राख्दै फेब्रुअरी महिनाका लागि साविकको आयात परिमाणमा २ हजार मेट्रिक टन थप गरिएको उहाँले बताउनुभयो।

निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास भण्डारण नगर्नसमेत उद्योगहरूलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्