स्वास्थ्य बीमामा एक लाखको सुविधा यथावत्, भ्रामक खबरप्रति बोर्डको ध्यानाकर्षण

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा सुविधाको उपचार खर्च कटौती गरिएको भन्ने भ्रामक खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले सूचना जारी गर्दै ५ जनासम्मको बीमित परिवारले वार्षिक रूपमा पाउने १ लाख रुपैयाँ बराबरको कुल सेवा सीमा यथावत् रहेको स्पष्ट पारेको छ। बीमा कोषको दिगोपन र सेवाको न्यायोचित व्यवस्थापन सुनिश्चित गर्न केही प्राविधिक परिमार्जन मात्र गरिएको बोर्डको भनाइ छ।

बोर्डका अनुसार नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मितव्ययी र व्यवस्थित बनाउन ५ जनासम्मको परिवारका लागि वार्षिक २५ हजार रुपैयाँको सीमा तोकिएको छ भने प्रत्येक थप सदस्यका लागि ५ हजार रुपैयाँ थपिने व्यवस्था गरिएको छ। परिवारले पाउने बाँकी रकम भने ओपीडी तथा आकस्मिक स्वास्थ्य सेवामार्फत पहिलेकै जस्तै उपयोग गर्न सकिने बोर्डले जनाएको छ।

विज्ञप्तिमा अनावश्यक तथा दोहोरो सेवा प्रयोग रोक्दै गम्भीर र जटिल प्रकृतिका रोगको उपचारका लागि स्रोत सुरक्षित राख्ने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख छ। साथै, स्वास्थ्य बीमा कोषमा पर्न सक्ने सम्भावित वित्तीय संकट टार्न र जीवनरक्षात्मक उपचार सेवालाई प्राथमिकता दिन यो कदम चालिएको बोर्डले बताएको छ।

बोर्डले स्पष्ट पार्दै आकस्मिक सेवा तथा अस्पताल भर्ना भई लिने उपचार सेवामा कुनै असर नपर्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्