निपाह भाइरसको जोखिम न्यून तर सतर्कता आवश्यक छः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा हालसम्म नेपालमा निपाह भाइरसको कुनै पनि घटना पुष्टि नभएको उल्लेख गर्दै स्वास्थ्य प्रणाली जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ। यस कारणले अनावश्यक रूपमा आतंकित नहुन र आफू तथा परिवारको सुरक्षाका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।

विज्ञप्तिमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरे पनि छिमेकी मुलुकमा देखिएका केही घटनालाई ध्यानमा राख्दै नेपालले पूर्वतयारीका कदमहरू अघि बढाएको उल्लेख छ।

मन्त्रालयका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था तथा सम्बन्धित निकायलाई सचेत गराइसकेको छ भने निपाह भाइरसको परीक्षणका लागि अन्तरिम एल्गोरिदम पनि तयार गरिएको छ।

स्वास्थ्य मन्त्रालयले व्यक्तिगत सरसफाइमा ध्यान दिन, शंकास्पद लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्