काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ । आयोगले अस्ति शनिबारसम्म २१ वटा स्पष्टीकरण सोधिसकेकोमा हिजो र आज थप नौ वटा स्पष्टीकरण माग गरेको हो ।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापाको निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाहसँग दोस्रो पटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रो पटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । त्यस्तै, शाहको चुनाव प्रचारप्रसारका क्रममा उहाँकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के कसो भएको हो भन्नेबारे पनि आयोगले स्पष्टिकरण माग गरेको छ ।
यसैगरी आयोगले बाजुरामा रास्वपाका उम्मेदवार हेमराज थापा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का उम्मेदवार माधव सापकोटालगायत अन्य उम्मेदवारसँग पनि स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म सोधिएका कूल २९ वटा स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ ।







